प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक जिवनमा साउन ३१ गते, पूर्व
प्रधानमन्त्री शेरबहादुर देउवा र निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद
कोइरालासँग केही चाखलाग्दा संयोग छन् ।
मात्रिका पौडेल
गणतान्त्रिक नेपालका
प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डको जिवनमा केही अनौठा संयोगहरु
देखिन्छन् । उनको राजनीतिक जिवनमा अत्यन्तै दुखद रहेको साउन ३१ अब सुखद
दिन भएको छ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डका लागि त्यस्तै
संयोगसँग जोडिने पात्र हुन् । कुनै बेला प्रचण्डले सबैभन्दा खतरा मानेका
निवर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला एक समय निकै नजिक हुनु र
अहिले त्यतिकै टाढा बन्नु पनि रोचक प्रसङ्ग नै हो ।
साउन ३१
माओवादी र सरकारबीच दाङको हापुरेमा वार्ता चलिरहँदा रामेछापको दोरम्बामा
साउन ३१ गते १९ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । सरकार र
माओवादीबीच तत्कालिन संविधान पुनर्लेखन गर्नेसम्म सहमति बन्ने सम्भावना
देखिइरहेको बेला दोरम्बा हत्याकाण्ड वार्ता असफल हुनुको एउटा महत्वपूर्ण
कारण बन्यो । र, माओवादीले दोरम्भा घटनालाई नै कारण देखाउँदै २०६० भदौ १०
गते दोश्रो पटक युद्धबिरामा भंग गर्यो । आफ्ना १९ कार्यकर्ता एकै चिहान
भएको र शान्तिपूर्ण राजनीतिमा आउने सम्भावना समाप्त पार्ने कारण बनेकै दिन
पाँच बर्षपछि आउँदा भने प्रचण्डका लागि खुसी लिएर आयो । २०६५ साउन ३१ गते
नै संविधानसभाबाट उनी प्रधानमन्त्रीमा निर्वाचित भए ।
देउवासँग
२०५२ साल माघ २ गते माओवादीसम्बद्ध संयुक्त जनमोर्चा नेपालका अध्यक्ष
बाबुराम भट्टराईले एक महिनभित्र ४० बुँदे माग पूरा नभए जनयुद्धमा जाने
चेतावनी दिँदा प्रधानमन्त्री शेरबहादुर देउवा थिए । ४० सुत्रीय माग
जनयुद्ध थाल्ने निहुँ मात्रै भए पनि अझै १० वर्ष सशस्त्र संघर्ष सुरुवात
हुनुमा तत्कालिन प्रधानमन्त्री देउवा जिम्मेवार रहेको मान्नेहरु छदैछन् ।
२०५८ साउन १३ गते देउवा दोस्रो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले
युद्धविराम घोषणा गरे तथा दुई पक्षीय वार्ता मंसिरसम्म चल्यो । देउवाकै
पालामा जनयुद्ध थालेको माओवादीले उनकै पालामा दाङको घोराहीमा सेनाका
क्याम्पमा आक्रमण गर्यो । यसैगरी, देउवा प्रधानमन्त्री हुँदा नै
सरकारले प्रचण्डसहित माओवादी नेताहरुको टाउकाको मोल तोक्यो । अनि, २०६५
साउन ३१ गते प्रधानमन्त्रीमा प्रचण्डको प्रतिस्पर्धामा पनि उनै देउवा खडा
भए । यो बेग्लै कुरा हो कि, इतिहासका बिभिन्न मोडहरुमा कहिले देउवाले जिते
भने कहिले प्रचण्डले ।
र, गिरिजासँग
कुनै बेला प्रचण्डको माओवादी पार्टीले निवर्तमान प्रधानमन्त्री
गिरिजाप्रसाद कोइरालालाई 'फासिस्ट गिरीजा' को पदवी दिएको थियो ।
कोइरालालाई माओवादीले फासिस्ट गिरिजा भन्नुमा सशस्त्र संघर्षकालमा सरकारले
गरेका प्रहरी अप्रेशनहरु रोमियोदेखि किलो शेरा टु सम्म कोइरालाकै
प्रधानमन्त्रीत्वमा हुनु महत्वपूर्ण कारण थियो । तर, रोल्पाको होलेरीमा
माओवादीबिरुद्ध सेना परिचालन हुन नमानेका कारण २०५८ साल साउनमा कोइरालाले
प्रधानमन्त्रीबाट राजीनामा दिएपछि भने माओवादी बिश्लेषण फेरिन थाल्यो ।
पदबाट हट्नासाथ कोइराला पहिले तत्कालिन प्रधानमन्त्री देउवामाथि र त्यसपछि
राजामाथि खनिनथाल्नु माओवादी बिश्लेषण फेरिनुको महत्वपूर्ण कारण थियो ।
२०६१ साल माघ १९ गतेदेखि राजाले एकलौटी सत्ता चलाउन थालेपछि राजा प्रचण्ड
र कोइराला दुवैका साझा सत्रु बने । त्यसैबीच, २०६२ मंशिर २ गते दिल्लीमा
प्रचण्ड र कोइरालाको नेतृत्वमा दलहरु र माओवादीबीच १२ बुँदे समझदारी भयो र
७ गते सार्वजनिक भयो । सत्ताको शक्तिलाई नजिकबाट चिनेका दुवै पात्रले
सहकार्यको आवश्यक्ता ठहर्याएपछि कुनै बेला नाम सुन्दै काँडा उम्रिनेबीच
निकट सम्बन्ध हुनथाल्यो र संविधानसभा चुनावभन्दा अघिका दुई वर्षमा दिनुहँ
एक अर्कालाई नभेटी नहुनेसम्मको सम्बन्ध विकाश भयो । तर, संविधानसभा
चुनावमा माओवादी पहिलो पार्टी बनेपछि न प्रचण्डलाई कोइरालाको आवश्यक्ता
पहिले जस्तो रह्यो न चुनावपछि दोश्रो पार्टी बनेपछि कोइरालाले नै
प्रचण्डसँग पुरानो सम्बन्धलाई नयाँरुपमा अघि बढाउने आवश्यक्ता देखे ।
परिणाम छँदैछ, अहिले प्रचण्ड कोइरालाको आवश्यक्ता महशुस गर्ने पक्षमा
छैनन् भने कोइराला प्रचण्डको नेतृत्वमा रहेको सरकार कुनै हालतमा सहजरुपमा
अघि नबढोस भन्ने चाहन्छन् ।